गैंडाकोटमा बसको ठक्करबाट हजुरआमा र नातिको मृत्यु

भाद्र २२, २०८१ | नवलपरासी

नवलपरासी पूर्वको गैंडाकोटमा बसको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट गैंडाकोट नगरपालिका–११ का ७ वर्षीय विशाल श्रेष्ठको घटनास्थलमै र श्रीमाया मानन्धरको उपचारको क्रममा मृत्यु भएको हो । 

नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले गैंडाकोट–१० भैसाखोरीमा गएराति ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मानन्धर मृतक श्रेष्ठको मामा घर तर्फको हजुरआमा हुन् । पेट र टाउकोमा चोट लागेको मानन्धरको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया