राहदानी विभागको सफ्टवेरमा भारइरस लागेपछि सेवा अवरुद्ध
मंसिर ९, २०८१ | काठमाडौं
राहदानीको ‘अनलाइन इनरोलमेन्ट’का क्रममा भाइरस लागेपछि राहदानी सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
राहदानी विभागका साथै राहदानी सेवा सञ्चालन हुने जिल्ला प्रशासन, इलाका प्रशासन, विदेशस्थित कूटनीतिक नियोग समेतको सेवा ठप्प बनेको हो ।
नयाँ राहदानी बनाउने, पुरानो राहदानी नवीकरण गर्ने लगायत राहदानी सम्बन्धी सबै कार्य अवरुद्ध रहेको राहदानी विभागले जनाएको छ । दुई दिनदेखि सेवाग्राहीले अनलाइन मार्फत आफैंले भर्न सक्ने सेवा समेत अवरुद्ध भएकाले सेवाग्राही प्रभावित बनेका हुन् । राहदानी विभागको पार्सपोट बनाउने पोर्टल नै अवरुद्ध भएको छ ।
सेवा अवरुद्ध भएपछि अत्यावश्यक सेवा मार्फत सुविधा समेत नपाउँदा धेरै नागरिकको विदेश यात्रा पनि प्रभावित बनेको गुनासो सेवाग्राहीले गरेका छन् । राहदानीको तथ्याङ्क व्यवस्थापनमा समस्या देखा परेकाले सेवा प्रभावित बनेको राहदानी विभागले जनाएको छ ।
अनलाइन मार्फत राहदानी सेवा सञ्चालन गरिरहेको विभाग सर्भरसँग जोडिएको कम्प्युटरमा भाइरस आक्रमण भएपछि तनावमा परेको जनाएको छ । विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार केही जिल्लास्थित राहदानी सेवा दिइरहेका कम्प्युटरमा भाइरस आक्रमण भएको हो ।
फाराम भर्ने र विभागमा पठाउने स्थानीय कम्प्युटर मार्फत भाइरस आक्रमण भएको पाइएकाले केन्द्रको सिस्टमसंग जोडिएको सर्भरनै बन्द गर्नुपरेको महानिर्देशक अर्यालको भनाई छ ।