कोशीका मुख्यमन्त्री कार्कीले बुधवार विश्वासको मत लिने

भाद्र ३१, २०८१ | काठमाडौं

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी बुधवार विश्वासको मत लिने हुनुभएको छ ।

सत्ता गठबन्धन फेरिएसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत लिन लाग्नुभएको हो । कोशी प्रदेशमा एमाले र कांग्रेससहित गठबन्धनको सरकार छ ।

संविधानको धारा १ सय ६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । कोशी प्रदेशसभामा ९३ सदस्य छन् । जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् ।

यस्तै माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी जसपाका एक सांसद छन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिनुभएको थियो ।


प्रतिक्रिया