उद्योग स्थापना गर्न सबै क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री लामा

आश्विन २, २०८१ | हेटौंडा

बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मुलुकमा रोजगारी सिर्जना गर्ने मुख्यमाध्यम उद्योग कलकारखाना भएकाले उद्योग स्थापना गर्न सबै क्षेत्रको सकारात्मक सहयोग हुनुपर्ने बताउनु भएको छ । 

बाग्मती प्रदेश उद्योग परिसंघको तेस्रो वार्षिक साधारण सभाको बुधबार उदघाटन गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकारले उद्योग स्थापना गर्नका लागि सहजीकरण गर्ने बताउनुभयो । 

अहिले मुलुकमा उद्योग स्थापना गर्ने वातावरण अझै बन्न नसकेको भन्दै उहाँले उद्योग कलकारखाना स्थापना भएपछि मात्र मुलुक समृद्धिको यात्रामा उन्मुख हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘औद्योगिक कानून नै स्पष्ट नभएकाले उद्योगीहरु लगानी गर्न उत्साहित हुन सकेका छैनन ।’ 

उद्योग स्थापना गरेपनि निरन्तर सञ्चालन गर्न निराश हुनुपर्ने वातावरण रहेको उल्लेख गर्दै लामाले यस्तो वातावरणलाई सबै क्षेत्र मिलेर हटाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘बाग्मती प्रदेश सरकार औद्योगिकमैत्री छ तर कानूनले प्रदेश सरकारलाई उद्योग सम्वन्धी खासै अधिकार दिएको छैन ।’ औद्योगिक क्षेत्रहरु सबै संघीय सरकार मातहत राखिएको छ । 

बाग्मती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग कलकारखानाहरु मुलुक समृद्ध बनाउने आधारशिला भएकाले सरकारले औद्योगिकमैत्री कानून निर्माण गर्नुपर्ने बताउनुभयो । 

उहाँका अनुसार अहिले मुलुकमा औद्योगिकमैत्री कानूनको अभाव छ भने अर्कोतिर उद्योग स्थापना गर्ने वातावरण पनि छैन । कार्यक्रममा प्रदेशको उद्योग तथा वाणिज्य मन्त्री शुकुमाया तामाङले उद्योग तथा वाणिज्य मन्त्रालयलाई सरकारले उपेक्षा गरेर सबै भन्दा थोरै बजेट विनियोजन गर्ने गरेको बताउनुभयो । कार्यक्रममा बाग्मती प्रदेशका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । 


प्रतिक्रिया