गैडहवा गाउँपालिकामा बालिकाका लागि बीमा

आश्विन २३, २०८१ | तिलोत्तमा

रुपन्देहीको गैडहवा गाउँपालिकाले स्थानीय बालिकालाई बीमाको सुविधा उपलब्ध गराउने भएको छ । छोरीलाई प्रोत्साहन गर्दै गाउँपालिकाले बालिकाको बीमा गराइदिने भएको हो । 

बालिकाहरुकरो बीमाका लागि पालिका र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले बताउनुभयो । ‘छोरी बचाउ छोरी पढाउ’ अभियान अन्तर्गत गाउँपालिकाभित्र जन्मिएका बालिकाको प्रोत्साहन, छोरीको शैक्षिक विकास, तथा बाल विवाह रोक्नका लागि गाउँपालिका अध्यक्ष बालिका बीमा योजना अन्तर्गत यो सुविधा प्रदान गर्न लागिएको उहाँले बताउनुभयो । 

बीमाले छोरीलाई हरेक स्तरमा बलियो बनाउने र उनका अभिभावक समेतलाई उनको महत्व बारे थप जिम्मेवार बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । बीमा स्थानीय स्वास्थ्य चौकीमा जाँच गराएका वा त्यहाँबाट रिफर भएकाका लागि मात्र लागू हुनेछ । 

बीमा बालिकालाई एकल भुक्तानी दिनेगरी ब्यवस्था गरिएको र २० वर्ष भित्र बालिकाको बुबा वा आमाको दुर्घटना वा कालगतिबाट मृत्यु भएमा कम्पनीको नियम अनुसार वा गाउँपालिकाको सिफारिस अनुसार बालिकालाई एकमुष्ट रुपमा भुक्तानी गरिनेछ । 

सम्झौता अनुसार बालिकाको उमेर २० वर्षसम्म पुग्दा अविवाहित रहेको सम्बन्धित वडा कार्यालयको प्रमाण सहित गाउँपालिकाको सिफारिसको आधारमा मात्र बिमितलाई भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ । 

साथै बालिकाको २० वर्ष अगावै विवाह भएमा सो रकम गाउँपालिकाकै खातामा जम्मा हुने अर्थात अविवाहितको सिफारिस लिएर आउनुपर्ने सम्झौतामा शर्त राखिएको छ । बालिका बीमाका लागि गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


प्रतिक्रिया