गोमा शहर विद्रोहीको कब्जामा
माघ १५, २०८१
रुवाण्डा समर्थित विद्रोहीहरूले पूर्वी कंगोको गोमा सहर कब्जा लिएका छन् । ’एम २३’ विद्रोही र कंगोको सरकारी सेनाबीच भएको भिडन्तमा कम्तीमा १७ जना विदेशी शान्ति सेनाको ज्यान गइसकेको छ । तीमध्ये १३ जना दक्षिण अफ्रिकी भएको बीबीसीले जनाएको छ ।
अन्य मृतकहरू मलावी र उरूग्वेका हुन् । भीडन्तमा कम्तीमा १२ सर्वसाधारणको ज्यान जानुका साथै ३ सयभन्दा बढी घाइते भएका छन् । दर्जनौं सरकारी फौजले विद्रोहीसामु आत्मसमर्पण गरेका छन् । आक्रमणपछि गोमाको जेलबाट सयौं कैदीहरू भागेका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार गोमाका सडकमा शवहरू यत्रतत्र छरिएका छन् । विद्रोही लडाकुहरूले केही स्थानीयको बलात्कार गरेको रिपोर्टहरू आएका राष्ट्रसंघको भनाइ छ ।