पाथीभरा झडप : ‘नो केवलकार समूहद्वारा मेची राजमार्ग बन्द

माघ १५, २०८१ | ताप्लेजुङ

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणविरुद्ध उत्रिएका समूहले मंगलबार मेची राजमार्ग र तमोर करिडोर बन्द गराएका छन् । केवलकार निर्माण रोक्नुपर्ने विषयलाई लिएर यही माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा झडप भएको थियो । सोही झडपको विषयलाई लिएर ‘नो केवलकार समूह’ले आज मेची राजमार्ग र तमोर करिडोर बन्द गराएका हुन् । 

मंगलबार बिहानैदेखि सडकमा निस्किएका बन्दकर्ताले सवारी साधन सञ्चालनमा रोक लगाएका छन् । सबैखाले सवारी साधन सञ्चालनमा रोक लगाइएको आन्दोलनरत समूहका अगुवा श्री लिंखिमले बताए । 

मेची राजमार्ग अन्तर्गत ताप्लेजुङदेखि पाँचथरको फिदिम, इलाम र झापाको चारआलीसम्म पर्छ । यता तमोर करिडोर अन्तर्गत ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मुलघाटसम्म पर्छ । 

मुलघाट हुँदै धनकुटाको भेडेटार भएर धरान र चतरा जोडिन्छ । मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङ लगायत संघ संस्थाले केवलकार निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् । 

उनीहरुले घाइतेहरुको उपचार खर्च राज्यले लिनुपर्ने, १२ गते पक्राउ परेका दुई जनालाई रिहा गर्नु पर्ने लगायत माग पनि राखेका छन् । प्रहरीले लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बूलाई १२ गते काफ्ले पार्टीबाट नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया