दिपक मनाङे पक्राउ
कार्तिक २७, २०८१
ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङलाई डिल्लीबजार कारागार चलान गरिएको छ । सितापाइलास्थित कम्फर्ट हाउजिङबाट विहान पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका प्रमुख होविन्द्र बोगटीले जानकारी दिनुभयो । यसअघि, गुरुङलाई सिआईबीले अदालती प्रक्रियाका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो ।
गत कात्तिक २० गते सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला सदर गर्दै गुरुङलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । २०६१ सालमा अर्का गुन्डा नाइके मिलन चक्रे भनिने मिलन गुरुङमाथि तरबार आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा गुरुङलाई पाटनले ५ वर्ष कैद सजाय सुनाएको थियो । मनाङ प्रदेशसभा २ बाट २०७४ र २०७९ को चुनावमा स्वतन्त्रबाट निर्वाचित भएका गुरुङ पछिल्लो समय प्रदेशसभामा भएको सत्ता फेरबदलको फाइदा उठाउँदै पटकपटक मन्त्री बन्ने अवसर पाएका थिए ।