नेपाल यू–१९ विश्व कपमा छनोट

कार्तिक २८, २०८१ | काठमाडौं

नेपाल आईसीसी यु १९ महिला विश्व कप क्रिकेटका लागि छनोट भएको छ । आज भएको खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स युएईमाथि ८ विकेटको जित हात पार्दै नेपालले पहिलो पटक विश्व कपमा स्थान बनाएको हो । 

युएईको अजमानमा घरेलु टोलीले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो । यसअघि सन् २०२३ मा भएको विश्व कपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।

नेपालको जितमा ओपनर साना प्रविनले ४२ बलमा सर्वाधिक नट आउट ३५ तथा कप्तान पुजा महतोले १८ बलमा ४ चौकाको सहयोगमा १८ रन जोडिन् । ओपनर साबित्री धामीले ९ बलमा १२ तथा सोनी पाख्रीनले १९ बलमा नट आउट १३ रन जोडिन् ।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । युएईका लागि कप्तान समाइरा धारनीधार्काले सर्वाधिक ३१ रन जोडिन् । 

नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए । कप्तान पुजा महतोले ४ ओभरमा मात्र ११ रन खर्चेर उत्कृष्ट बलिङ गरिन् । 

यू–१९ टी–२० विश्व कप अर्को वर्ष जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा आयोजना हुदैछ । नेपाल रहेको समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । नेपालले बंगलादेशविरुद्ध खेल्दै विश्व कपको सुरुवात गर्नेछ ।


प्रतिक्रिया