मुलुकको समृद्धिका लागि कानुनको शासन हुनुपर्छः प्रधानन्यायाधीश राउत

कार्तिक २८, २०८१

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले मुलुकको समृद्धिका लागि कानुनी शासनको प्रत्याभूति हुनुपर्ने बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४’ मा उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रधानन्यायाधीश राउतले मुलुकलाई समृद्ध बनाउने पहिलो सर्त कानुनको शासन भएको बताउनुभएको हो । प्रधानन्यायाधीश राउतले प्रत्येक निकायले आ–आफ्नो क्षेत्रबाट कानुनको पालना गर्दै अगाडि बढ्दै जानुपर्ने बताउनुभयो । समाजमा कस्तो संस्कार बसाइएको छ भन्ने कुराले पनि मुलुकको समृद्धि र कानुनको शासनको मापन हुने उहाँको भनाई थियो । अर्को प्रसंगमा राउतले सत्यलाई सत्य भन्नका लागि नैतिक बल हुनुपर्ने एवं सत्यको मात्रै वकालत गर्ने समय आइसकेको बताउनुभयो ।

यसैबीच कान्तिपुर मिडिया ग्रुपको आयोजनामा ‘कान्तिपुर कन्क्लेभ’को चौथो संस्करण काठमाडौंमा जारी छ । कन्क्लेभको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले संयक्तु रुपमा उद्घाटन गर्नुभयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा बहस गरिने कन्क्लेभको यसवर्षको मुख्य विषयवस्तु ‘डेमोक्रेसी इन डिलिमा’ रहेको छ । कन्क्लेभमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समेत वक्ताका रुपमा रहनुहुनेछ ।

कन्क्लेभको पहिलो दिन आज दोबाटोमा लोकतन्त्र, नीति र समृद्धि, लोक रिझ्याइँको लहर, सामाजिक सञ्जालः दुईधारे तरबार जस्ता विषयमा छलफल भएको छ । 


प्रतिक्रिया