लामिछानेलाई अन्यायको चक्रव्यूहमा फसाईएको रास्वपाको आरोप
कार्तिक २७, २०८१
सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानविन जारी रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उहाँलाई अन्यायको चक्रव्यूहमा फसाइएको आरोप लगाएको छ । प्रहरी हिरासतमा रहेका लामिछानेलाई पार्टीका केही नेताले भेटेपछि अपिल जारी गर्दै रास्वपाले आन्दोलनका लागि आव्हान समेत गरेको छ ।
अपिलमा भनिएको छ–“आज यस घडीमा नेपाल, न्याय र लोकतन्त्र माथि विश्वास राख्ने हामी सबैले आक्रोशका साथ भन्नैपर्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अन्यायको चक्रव्यूहमा फसाइएको छ ।” रास्वपाले राज्यको तर्फबाट लामिछानेविरुद्ध डरलाग्दो र निकृष्ट प्रतिशोध लिइएको आरोप लगाएको छ ।
सो पार्टीले सभापतिसँगै नागरिकमा जागेको आशा र वैकल्पिक राजनीतिक शक्तिप्रति बढेको विश्वास निमोठ्न खोजिएको दावी समेत गरेको छ । रास्वपाको अपिलमा प्रहरी हिरासतमा रहँदा सभापति लामिछाने हतास नभएको उल्लेख छ ।