गढीमाईमा राँगा बलि घट्यो, बलिको प्रसादका लागि हानथाप
मंसिर २४, २०८१ | बारा
प्रत्येक पाँच÷पाँच वर्षमा लाग्ने गढीमाई मेलामा यस वर्ष बलि घटेको छ । आइतबार बलि दिइएको राँगाको संख्या न्यून देखिएको हो । दसगजामा भारतीय सुरक्षा बल एसएसबी बलको अवरोध, बलिविरुद्ध पशु अधिकारकर्मीको जोडबल लगायतले राँगा बलि घटेको हो ।
विगतका मेलामा ८ देखि १० हजारसम्म राँगा बलि दिइने गरिन्थ्यो । तर, यस वर्ष साढे चार हजारको संख्यामा बलि दिइएको गढीमाई मेला मूल व्यवस्थापन समिति अन्तर्गतका बलि व्यवस्थापन उपसमितिका संयोजक प्रेमप्रसाद साहले बताउनुभयो । विभिन्न अवरोधका बाबजुद यति बलि दिइएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘यति पनि बलि हुन नदिने भन्दै चौतर्फी दबाब थियो ।’
बिहान ८ बजेदेखि सुरु भएको बलिको मासु ‘प्रसाद’ को रुपमा लग्न हानाथाप चलेको थियो । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश सापकोटाका अनुसार २ बिघा क्षेत्रफलमा फैलिएको बधशालामा राँगा बलि व्यवस्थित गर्न १ सय प्रहरी परिचालन थियो । तर, पनि सुरक्षाका लागि निर्माण गरिएको १२ फिटको पर्खालबाट उफ्रेर मासुलाई ‘प्रसाद’ भन्दै दलित समुदायले लिएर गएको डीएसपी सापकोटाले बताउनुभयो ।
‘प्रसाद’ लग्ने पहाडी र मधेसी समुदायका दलित समुदाय थिए । उनीहरु आफ्ना घर लगायत आफ्न्तको घरमा ‘प्रसाद’ पुर्याउन लगेका हुन् । मधेसमा चमार र नेटुवा जातिले ‘प्रसाद’ लगेका हुन् । बधशालाभित्र सहजै पहुँच नभएपछि उनीहरु आक्रोसित थिए । मेला समितिको गाड्ने योजनाविरुद्ध र बधशालाको पर्खालको उचाई बढीसँगै सुरक्षा तैनाथीविरुद्ध उनीहरु आक्रोसित थिए ।
बलिको मासुलाई उनीहरुले ‘प्रसाद’ भन्दै मासु लान मेलामा सातादेखि विगत झैं डेरा जमाएर सामूहिक रुपमा बसेका थिए । बोरा, झोलासहित आफन्त, परिवार र समूह नै मिलेर लगेका हुन् । राँगा बलि व्यवस्थापन समितिका संयोजक साहले ‘प्रसाद’ का लागि दलित समुदायले बधशाला वरिपरि हुटिङ र होहल्ला मचाएपछि थप राँगाको रसिद काट्न छाडेर भाग्नु परेको बताउनुभयो । बधशालाभित्र राँगाको संख्या बराबर नै मासु लग्ने व्यक्ति पर्खालबाट हाम फालेर बधशालाभित्र पसेका थिए ।
बधशालाभित्र पस्न नदिन प्रहरीलाई हम्मेहम्मे परेको थियो । बधशाला बाहिर अरु राँगाको कान काटेर छाडिएको, केही बाहिरै बलि दिएर प्रसादको रुपमा लगेको र भारतबाट आउने केही राँगा भारतीय एसएसबीले खोसेर लगेको साहको भनाई छ । भाकलका राँगा आउन नदिन दसगजामा भारतीय एसएसबीले कडाई गरेको गरेको थियो ।
यता बध गरिएका राँगााको मासु लग्नेहरुलाई नियन्त्रण गर्न नसकेर प्रहरीले ‘प्रसाद’को लागि खुकुलो गरेको थियो । दलित अगुवाहरुले सिनो नखाने र बहिष्कार गर्ने भनेर चेतनामुलक कार्यक्रम गर्दै आएको भए पनि यसलाई सिनो होेइन कि प्रसाद हो भनेर सबैले खान लगेका हुन् ।
बलि व्यवस्थापनको लागि खटिएका स्वयंसेवक भागाभाग थिए । दलित अगुवा दशरथ रामका अनुसार सिनो बहिष्कार अभियान जारी राख्ने बबताउनुभयो । कसैले बहिष्कार गर्न नमाने पनि अभियान नरोकिने उहाँको भनाई छ ।
गढीमाई पञ्चवर्षीय मेला मुल व्यवस्थापन समितिका एक पदाधिकारीका अनुसार २०७१ मा ५ हजार र २०७६ मा ८ हजार भन्दा बढी राँगा र अन्नगिन्ती बोका लगायतको बलि दिइएको थियो । त्यतिखेर पशु अधिकारकर्मीहरुको हस्तक्षेप र भारतीय अदालतको फैसलाले कम राँगा आएको थियो ।
पशुअधिकारकर्मी सहित नेपालको सर्वोच्च अदालतले समेत पशु बलिलाई निरुत्साहित गर्न आदेश गरिसके पनि बलि निरुत्साहित हुन सकेको छैन । गढीमाई मेलाको विशेषता पशुपंक्षी बलि नै हो । पशु पंक्षीमा रागा, खसी, बोका, कुखुरा, हाँस, परेवा बलि दिइन्छ ।
राँगा बाहेकका बलि भाकल गर्नेले गढीमाई क्षेत्रको सिमानाभित्र पायक पर्ने ठाउँमा स्वस्फुर्त बलि दिने चलन छ । राँगालाई भने गढीमाई परिसरमा बनाइएको २ बिघा क्षेत्रफलको बधशालाभित्र जम्मा पारेर बलि दिइन्छ । ‘बलि दिने प्रथाले प्रसिद्ध यस शक्तिपीठमा दर्शनार्थीले भाकल गरेर मनोकामना पूरा भएको विश्वासमा हजारौंको बलि दिने गरेका छन्, मन्दिरका पुजारी मंगल चौधरीले भन्नुभयो, ‘यो परम्पराको विभिन्न पक्षले विरोध गर्दै रोक्ने अभियान चलाए पनि बलि दिइनेको अझै छ ।’