स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन स्वास्थ्य संस्थालाई सरकारको निर्देशन
मंसिर २८, २०८१ | काठमाडौं
स्वास्थ्यकर्मीहरुको लागि तोकिएको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन स्वास्थ्य संस्थाहरुलाई सरकारले निर्देशन दिएको छ ।
केही स्वास्थ्य संस्थाहरूले आफ्ना स्वास्थ्यकर्मीहरू, विशेषगरी नर्सलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो निर्देशन दिएको हो ।
सरकारले स्वास्थ्यकर्मीहरूलाई स्वयंसेवकका रूपमा काम नलगाउन समेत स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ । यस्तै, तोकिएको न्यूनतम पारिश्रमिक उपलब्ध नगराई काम गराएको पाईमा मन्त्रालयलमा उजुरी गर्न समेत सरकारले आग्रह गरेको छ । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन भन्दै सरकारले सो निर्णय गरेको हो ।
विशेषगरि नीजि क्षेत्रबाट सञ्चालनमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिक समेत नदिइ काम लगाउने गरेको भन्दै आलोचना हुँदै आएको छ ।
यस्तै मन्त्रालयले तोकिएको भन्दाबढी कार्य गरेको अवस्थामा अतिरिक्त भत्ताको व्यवस्था गर्न, ज्यालादारीमा काम नलगाउन तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरुको भुक्तानी अनलाइन बैंकीङ प्रणालीमार्फत गर्न गराउन सरकारी, नीजी, सामुदायिक तथा मेडिकल कलेजहरूका नाममा पत्राचार गरेको छ ।