सत्ता केन्द्रीत नभई जनतामा जानुपर्ने माओवादीको निष्कर्ष

मंसिर २८, २०८१

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सत्ता केन्द्रीत नभई जनतामा जानुपर्ने निष्कर्ष निकालेको छ । उपनिर्वाचनको समीक्षा गर्न आज बसेको स्थायी कमिटि बैठकमा अधिकांश नेताहरुले पार्टी सत्ता भन्दा पनि जनतामा केन्द्रीत हुनुपर्ने धारणा राखेको प्रवक्ता अग्नि सापकोटाले बताउनुभयो ।

कांग्रेस र एमालेले सोचिरहेको दुई दलीय व्यवस्थालाई खण्डित गरेको माओवादी केन्द्रका प्रवक्ता सापकोटाको भनाई थियो । चुनावले सरकारलाई थप दबाब दिएको पनि उहाँले बताउनुभयो । सुशासन, सेवा प्रवाह , भ्रष्टाचार नियन्त्रण जस्ता विषयमा जनताप्रति निराशा छाएको पनि उहाँले टिप्पणी गर्नुभयो । यसैबीच केन्द्रीय समितिको बैठक पुष २१ गते गर्ने पार्टीले निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

स्थानीय तह उपनिर्वाचनमा पाएको मत परिणामले उत्साही बनेको माओवादी केन्द्रले निर्वाचन प्रणालीमा संसोधन सहितका एजेण्डा जनतामाझ लैजाने बताएको छ । सत्ताबाट ४ महिनाअघि बहिगर्मन भइ प्रतिपक्षी कित्तामा धकेलिएको माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन र सांसदहरु मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्नुपर्ने बताउँदै आएको छ ।  


प्रतिक्रिया