समाजवादीको स्थायी कमिटी बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल
मंसिर २८, २०८१
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल भएको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटीको आज बसेको बैठकले कार्ययोजनामाथि छलफल गरेपनि निर्णय भने नभएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो ।
भोलि बिहान ११ बजे बस्ने बैठकमा पुनः छलफल हुने तुलाधरले बताउनुभयो । आजको बैठकमा महासचिव घनश्याम भुसालले पेस गरेको कार्ययोजना माथि पदाधिकारीले धारणा राखेका थिए । त्यस्तै, लामो समयसम्म हुन नसकेको केन्द्रीय सदस्यको कार्यविभाजन समेत गर्ने बारे छलफल भएको छ ।
गत साउनमा केन्द्रीय समितिले पूर्णता पाए पनि सदस्यले जिम्मेवारी पाएका छैनन् । समाजवादी प्रचार विभागका अनुसार केन्द्रीय सदस्यहरूको कार्य विभाजनसहित कार्ययोजना समेत बनाउँदैछ । भोलि वार्षिक कार्ययोजनामाथि नैै छलफल हुने सचिवालयले जनाएको छ ।