अदालतमा बिचौलियाको पहिचान गर्न समिति गठन

पुस २२, २०८१ | पर्सा

पर्सा जिल्ला अदालतमा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता तथा बिचौलियाको पहिचान गर्न पहिचान समिति गठन गरिएको छ । वरिष्ठ अधिवक्ता दीपकराज भण्डारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । 

समितिमा अधिवक्ता पन्नालाल गुप्ता, जिल्ला अदालतका तहसिलदार सुदीप पोखरेल, जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता उमेश विजय श्री थारु सदस्य र जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष कमलमोहन पोखरेल सदस्य सचिव छन् । 

बार एसोसिएसनका अध्यक्ष कमलमोहन पोखरेलको अध्यक्षतामा आइतबार बार एकाइको कार्यसमिति, पार्षद एवम् सल्लाहार र पर्सा जिल्ला अदालतका न्यायाधीश, श्रेस्तेदार, जिल्ला न्यायाधीवक्ता समेतको उपस्थितिमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

समितिले पहिचान गरेका विषय र क्षेत्रहरुलाई कार्यान्वयन गर्न जिल्ला न्यायाधीश दीपक खनालको संयोजकत्वमा कार्यान्वयन समिति पनि गठन गरिएको छ । 

समिति सदस्यमा जिल्ला न्यायाधीवक्ता भोलानाथ निरौला, पहिचान समितिका सबै सदस्य, श्रेस्तेदार घनेन्द्र अधिकारी सदस्य सचिव, नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुधिर कर्ण स्थायी आमन्त्रित सदस्य र आवश्यकता अनुसारका अन्य पदााधिकालाई समितिको बैठकमा सहभागी गराउने पर्सा बारका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । 

अदालत, सरकारी वकिल कार्यालय र बार एसोसिएसन समेतको तदारुकतामा मोफसलको न्यायालयमा पहिचान समिति गठन भएको यो पहिलो अवसर रहेको पोखरेलको दाबी छ । ‘हरीकृष्ण कार्कीको प्रतिवेदनलाई कार्यान्वयन गर्ने पर्सा मोफसलको पहिलो जिल्ला भएको छ,’ उहाँले भन्नुभयो, ‘न्यायपालिकाको विकृति, विसंगति अन्त्य गर्ने सम्बन्धमा मोफसलबाट थालिएको यो क्रान्तिकारी कदम पनि हो ।’


प्रतिक्रिया