कांग्रेसभित्रै चरम असन्तुष्टि देखिन्छः अध्यक्ष दाहाल

माघ १, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार अपारदर्शी भएको बताउनुभएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेमा आज सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा अध्यक्ष दाहालले अप्राकृतिक र असंवैधानिक भएकाले वर्तमान सरकार ढल्ने निश्चित रहेको समेत दाबी गर्नुभयो । कांग्रेसभित्रै सरकारलाई लिएर तीव्र असन्तुष्टि रहेको समेत उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले संवैधानिक व्यवस्था,विद्युत् प्राधिकरणमा हस्तक्षेप गर्दै सरकारले सदन छलेर अध्यादेशबाट शासन गरिरहेको जिकिर गर्नुभयो । उहाँले सरकारलाई सदन खुलाउन माग गरेको र सदनका लागि कुरिरहेको समेत उल्लेख गर्नुभयो । यसैबीच, अध्यक्ष दाहालले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताउनुभएको छ ।  


प्रतिक्रिया