विपिन जोशीको रिहाइका लागि कतारसँग परराष्ट्र मन्त्री राणाको अपिल
माघ १, २०८१
परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि कतारसँग अपिल गर्नुभएको छ । परराष्ट्रमन्त्री राणाले आज बिहान कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुल अजिज अल‐खुलाइफीसँग फोनवार्ता गर्नुभएको हो । मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्तासमेत हुनुहुन्छ ।
खुलाइफीसँगको कुराकानीमा राणाले हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्नुभएको हाम्रा सहकर्मीले जनाएका छन् । खुलाइफीले हमासलाई इजरायलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रूपमा अघि बढिरहेको जानकारी गराउँदै हमासको अपहरणमा रहेकाहरूको मुक्तिका लागि कतार सरकारले पहल गरिरहेको बताउनुभएको थियो ।
विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको छ । संयुक्त राष्ट्रसंघ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरुका साथै द्विपक्षीय एवं बहुपक्षीय बैठकहरुमा समेत परराष्ट्रमन्त्री राणाले विपिनको रिहाइका लागि पहल गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै आउनुभएको छ ।