कञ्चनपुरबाट पेस्तोलसहित ४ भारतीय नागरिक पक्राउ

माघ १०, २०८१ | कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट हतियार सहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । महेन्द्रनगर बजार नजिकै बुधबार राति भारतीय नम्बरको गाडीमा पेस्तोल बोकेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा भारत उत्तराखण्डको उद्यमसिंहनगर खटिमाका ३४ वर्षीय जीवन सिंह जिमेवाल, ३१ वर्षीय कोमल विष्ट, ३४ वर्षीय उमेद सिंह अधिकारी र २८ वर्षीय सञ्जय जेठी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार बुधबार साँझ महेन्द्रनगर आएका उनीहरुलाई एउटा गाडीमा फर्किदाखेरी पक्राउ परेका हुन् । ‘हतियार देखिएको सूचना अँएपछि हामीले चेकजाँच गरेका हौं, हतियार मात्रै देखियो, गोली थिएन,’ एसपी जोशीले भन्नुभयो, ‘गाडीमा मदिरा पनि भेटिएको छ, उनीहरु खानपिनका लागि आएको जस्तो देखिन्छ ।’ 

पक्राउ परेकाहरुका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया