सरकार ढल्दैछ भनेर बिलौना गर्नुको औचित्य छैनः प्रधानमन्त्री ओली
माघ १४, २०८१ | काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्दैछ भनेर कसैले बिलौना गर्नुको औचित्य नभएको बताउनुभएको छ । सरकारको भविष्यलाई लिएर प्रतिपक्षी दलका नेताहरुले लगातार रुपमा अभिव्यक्ति दिइरहेका बेला प्रधानमन्त्री ओलीले गठबन्धनभित्र कुनै समस्या नभएको र सहमति अनुसार अघि बढ्ने बताउनुभएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले काँग्रेस र एमालेले देशलाई स्थिरता दिने संकल्प गरिसकेको समेत दाबी गर्नुभयो । पूर्व सहमतिअनुसार आफूले काँग्रेसबाट पूरा साथ पाएको भन्दै उहाँले दुई ठूला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउने बताउनुभयो ।
सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा सरकारले विकास र स्थिरताको बलियो आधार तयार पार्ने प्रधानमन्त्री ओलीको दावी थियो । अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले संसदकोे हिउँदे अधिवेशनमा कानून निर्माणलाई तीव्रता दिने बताउनुभयो ।