कास्की अदालतको आदेशप्रति रास्वपा सभापति लामिछाने उच्चमा
माघ १४, २०८१ | काठमाडौं
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले दिएको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत पोखरामा निवेदन दर्ता गराउनु भएको छ ।
कास्की जिल्ला अदालतले गत पुस २५ गते थुनछेकसम्बन्धी सुनुवाईको आदेशमा धरौटी माग गरेकोमा चित्त नबुझी सो आदेश बदर गर्दै साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै रास्वपा सभापति लामिछानेले अदालतमा निवेदन दर्ता गराउनुभएको हो ।
गत पुस २५ गते लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । यता, सरकारी वकिलको कार्यालयले धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेश बदर गरी थुनामा राख्नुपर्ने भन्दै उच्च अदालत पोखरामा निवेदन दर्ता गरिसकेको छ ।