न्याय परिषद् सदस्य सिफारिस खड्काको संसदीय सुनुवाइ माघ २० मा हुने
माघ १४, २०८१ | काठमाडौं
न्याय परिषद्को सदस्यमा सिफारिस वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाइ माघ २० गते हुने भएको छ । संसदीय सुनुवाइ समितिको बैठकले खड्काको सुनुवाइ माघ २० गते गर्ने निर्णय गरेको हो ।
सिंहदरबारमा आज बसेको समिति बैठकमा परिषद् सदस्यमा सिफारिस खड्काको संसदीय सुनुवाइ गर्ने सन्दर्भमा समिति सचिवालयले तयार पारेको कार्यतालिका परिमार्जन सहित पारित गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिनुभयो । खड्का विरुद्ध दिएको मितिभित्र उजुरी प्राप्त नभएको समितिले जनाएको छ ।
नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्यमा नियुक्त गर्न खड्काको नाम गत पुस २७ गते सिफारिस गरेको थियो । संसदीय सुनवाइबाट अनुमोदित भएपछि खड्का परिषद् सदस्यमा नियुक्त हुनुहुनेछ ।