पाथिभरामा केबलकार विवादः विरोधमा रहेको समूहद्वारा वार्ताका लागि सरकारसँगको तीन प्रस्ताव

माघ १६, २०८१ | ताप्लेजुङ

ताप्लेजुङको पाथिभरामा केबलकार बनाउन नहुने भन्दै विरोधमा उत्रिएका समूहले सरकारसँगको वार्ताका लागि तीन वटा प्रस्ताव अघि सारेका छन् । 

उनीहरुले केबलकार निर्माणको काम रोकिनु पर्ने, सशस्त्र प्रहरीको टोली काफ्लेपाटी क्षेत्रबाट फर्काइनु पर्ने र पक्राउ परेका आफ्ना तीन कार्यकर्ता बिना सर्त रिहा हुनुपर्ने माग राखेका हुन् । 

यसैबीच, केबलकार निर्माणको विरोधमा उत्रिएका समूहले दोस्रो दिन पनि मेची राजमार्ग र तमोर कोरिडोर बन्द कायमै राखेका छन् । राजमार्गको ठाउँ ठाउँमा बसेका उनीहरुले सवारी चल्न दिएका छैनन् । कोशी प्रदेश सरकारले गठन गरेको राजनीतिक तथा शान्ति वार्ता समितिले हिजो औपचारिक वार्ताको लागि आव्हान थियो ।

 तर वार्ताको विषयमा आफूहरूलाई जानकारी नभएको र आधिकारिक सूचना पनि नआएको किरात याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले बताउनुभयो । प्रदेश सरकारसँग वार्ता गर्नुको खासै औचित्य नहुने उहाँको भनाई छ । गत माघ १२ गते पाथीभरा क्षेत्रको काफ्लेपाटीमा नो केबलकार समूह र प्रहरीबीच झडप भएको थियो । झडपमा घाइते तीन जनाको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।  


प्रतिक्रिया