काँग्रेस सभापति र उपसभापतिहरुको भेला पोखरामा
माघ २२, २०८१ | काठमाडौं
नेपाली काँग्रेसका ७७ वटै जिल्ला सभापति र उपसभापतिहरुको भेला कास्कीको पोखरामा सुरु भएको छ । बिहान सुरु भएको भेलामा सबै जिल्लाका सभापति र उपसभापतिलाई प्रशिक्षण दिने पार्टी सचिवालयले जनाएको छ ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं पार्टी कास्कीको व्यवस्थापनमा प्रशिक्षण कार्यक्रम राखिएको हो ।
पार्टीको संगठनात्मक गतिविधिको जानकारी र समसामयिक मुद्दाका विषयमा छलफल गर्न भेला आयोजना गरिएको काँग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रमलाई काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापा लगायत पदाधिकारीले सम्बोधन गर्नुहुने काँग्रेसले जनाएको छ ।
यसअघि हिजो सबै प्रदेशका सभापतिलाई प्रशिक्षण दिइएको थियो ।