पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सुरु
माघ २२, २०८१ | काठमाडौं
सरकारले ‘विश्व क्यान्सर दिवस’को अवसर पारेर आज देशभर पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी खोप अभियान’ सुरु गरेको छ ।
विद्यालय केन्द्रित यो खोप अभियान आगामी फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । महिलामा हुने क्यान्सर मध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनिकरण गर्ने उद्देश्यले एपीभी खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस अभियानमा १६ लाख ८८ हजार ७ सय भन्दा बढी किशोरीलाई खोप दिईने लक्ष्य राखिएको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिईने मन्त्रालयले जनाएको हो ।
नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । अरु क्यान्सरको ठोस कारण पत्ता नलागे पनि पाठेघरको मुखको क्यान्सर एचपीभी भाइरसबाट हुने अनुसन्धानले देखाएका छन् ।
विश्वभरि नै एचपीभी नामक भाइरसले पाठेघरको मुखको क्यान्सरका बिरामीको दर र मृत्युदर समेत बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार २ सय अन्य खोप केन्द्र रहने स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार खोप अभियान प्रभावकारी बनाउन २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुनेछन् । त्यसैगरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षक संलग्न हुने महाशाखाले जनाएको छ ।