सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री ओलीको भर्चुअल बैठक
माघ २५, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाप्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र संघीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा मुलुकका सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठकमार्फत छलफल गर्नुभएको छ । सिंहदरबारस्थित एक्सन रुमबाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग पहिलो पटक संवाद गर्दै आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी जुट्दा थप छलफल गर्दै जाने विश्वास दिलाउनुभयो ।
उहाँले सकेसम्म प्रदेशमै पुगेर र कतिपय प्रदेशसभामा पनि पुगेर समस्याको पहिचान गरी कार्यान्वयनमा जाने जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले अहिलेको सूचना र प्रविधिको जमानामा यसको उपयोग गरी जिल्ला तह र आयोजनागत रुपमा मुख्यमन्त्रीहरुले छलफल गर्न सक्ने बताउनुभयो । आगामी वर्षका लागि यसै वर्षदेखि यस प्रकारको तयारी गर्न मुख्यमन्त्रीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले विकासको आधारका रुपमा शिक्षालाई लिनुपर्नेमा जोड दिनुभयो ।