कालीगण्डकीमा पुल निर्माण ९ वर्षदेखि अलपत्र, काम नसक्दै १३ करोड भुक्तानी

माघ २९, २०८१ | नवलपरासी

निर्माण कम्पनीको लापरबाहीले कालीगण्डकी नदीमा बन्दै गरेको पुल विगत ९ वर्षदेखि अलपत्र परेको छ । ठेकेदार काम छोडेर सम्पर्कविहीन भएपछि ९ वर्ष अघि निर्माण सुरु भएको पक्की पुलको काम अलपत्र परेको हो । 

नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिका र तनहुँको रिसिङ गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा २०७२ सालमा पुल निर्माण सुरु गरिएको थियो । पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर बिदुर सुबेदीका अनुसार पुल निर्माण सुरु गरेको ९ वर्षको अवधिमा ४५ प्रतिसत मात्र काम भएको छ । 

ठेकेदार कम्पनीले काम नसक्दै १३ करोड रुपैयाँ भुक्तानी लगिसकेको उहाँले बताउनुभयो । पुल निर्माणका लागि पटक–पटक ठेकेदार कम्पनीलाई लिखित रुपमा पत्राचार गर्दा समेत अटेर गरेको सुवेदीको भनाई छ । ‘कामको अनुपातमा भुक्तानी दिने हो हालसम्म ४५ प्रतिसत काम सम्पन्न गरेका छन् त्यसैका आधारमा १३ करोड भुक्तानी लगेको हो,’ उहाँले भन्नुभयो, ‘पुल निर्माणका लागि तारन्तार ठेकेदार कम्पनीलाई लिखित पत्राचार गर्दा समेत टेर्दैन ।’ 

सो पुल निर्माणको लागि संयुक्त रुपमा काम गर्नेगरी ३ वटा कम्पनीले ठेक्का लिएका छन् । जिम्मेवारी पाएका ३ वटा ठेकेदार कम्पनी सम्पर्कमै नआएकोले काम हुन नसकेको पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर सुबेदीको भनाई छ । 

कुल २६ करोड ८२ लाख रुपैयाँको लागतमा लुम्बिनी, स्वच्छन्द र नार्गाजुन निर्माण कम्पनीले संयुक्त काम गर्नेगरी जिम्मेवारी लिएका हुन् । तर, ठेकेदार नै काम छोडेर भागेपछि पुल निर्माण पूरा हुन नसकेको हो । पछिल्लो पटक गत बैशाखमा एक वर्ष समय थप गरेर निर्माणको जिम्मेवारी दिइएपनि ठेकेदार कम्पनी काम गर्न नआएको इन्जिनियर सुबेदीले जानकारी दिनुभयो । 

काम थालेको ९ वर्षको अवधिमा कालिगण्डकीमा ४ वटा मात्र खम्बा ठड्याइएको छ । २ सय ९० मिटर लम्बाई र साढे १० मिटर चौडाइको पुल निर्माण अलपत्र परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या हुने गरेको छ । ‘काम थालेको ९ वर्ष भईसक्यो ठेकेदार आउँदैन्’, स्थानीय सूर्य कँडेलले भने ‘यो पुल बनाउन ताकेता गर्ने सरकारी कार्यालय छैन क्या हो ?’ 

महेन्द्रराजमार्गको कावासोती, दल्दले, कोखे सडक हुँदै तनहुँ आउजाउ गर्न यो पुल तर्न पर्छ । कालिगण्डकी कोरिडोर अन्तर्गतको बुलिंटार–४ मा पर्ने कोखेमा यो पुल निर्माण सुरु भएको हो । कोखे बजारबाट १ सय मिटर उत्तरमा रहेको कालिगण्डकी नदीको घाट (किनारलाई) लाई गडगडीघाट भनिन्छ । 

महेन्द्रराजमार्गको कावासोती दल्दले, कोखे हुँदै तनहुँको रिसिंग पुग्न यो पुल निर्माण थालिएको हो । गैंडाकोट, कावासोती र दल्दलेबाट अर्खला कोखे हुँदै भिमाद पोखरा पुग्न यो पुल तरेर जाँदा बाटो छोटिन्छ । गैंडाकोट, कावासोती र दल्दलेबाट पोखराजाने यात्रुहरु हाल कोखे भन्दा १३ किलोमिटर पश्चिम डेढगाउँ हुँदै तनहुँको भिमाद बजार पुग्न बाध्य छन् । 


प्रतिक्रिया