सत्तारुढ दलहरुबीच शङ्का–उपशङ्का जरुरी छैनः प्रधानमन्त्री ओली

फाल्गुन ४, २०८१ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच कुनै प्रकारका शङ्का उपशङ्का गर्न जरुरी नभएको बताउनुभएको छ ।

 गठबन्धनमा रहेका नेपाली कांग्रेस र एमालेबीच उच्च विश्वास र समझदारी भएको प्रधानमन्त्री ओलीको भनाई छ । प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले विकास र समृद्धिलाई निरन्तरता दिई राजनीतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा सत्ता साझेदार दलबीच कुनै वेमेल नभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन विभिन्न पहल भइरहेको समेत बताउनुभयो । आयोजना कार्यान्वयनमा तीव्रता ल्याउन तथा ठेक्का व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सम्वन्धित निकायबीच समन्वय गरिने उहाँको भनाई थियो ।

चालु खर्चमा मितव्ययिता कायम गर्दै पूँजीगत खर्चमा वृद्धिका लागि विभिन्न विकल्पमा काम भइरहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । प्रतिनिधिसभा बैठकमा आज भएको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले विभिन्न दलका सांसदले सोधेका प्रश्नको जवाफ दिनुभएको थियो । 


प्रतिक्रिया