बेलुन विस्फोट घटनाबारे छानविन गर्न आठ सदस्यीय समिति गठन

फाल्गुन ४, २०८१ | काठमाडौं

गृहमन्त्रालयले पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा हिजो भएको बेलुन विस्फोटको घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।

मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन भएको हो । घटनाको विस्तृत छानबिन गर्दै आगामी दिनमा अपनाउनुपर्ने सतर्कता र उपायसहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ । 

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचाररत उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । राष्ट्रपति पौडेलले आज बिहान अस्पताल पुगेर दुबैजनाको स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको हो ।

 राष्ट्रपति पौडेललाई अस्पतालका निर्देशक किरण किशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले उहाँहरुको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । दुवैजनाको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालको भनाई छ । 


प्रतिक्रिया