विपिन जोशीको रिहाइमा सहयोग गर्न कतारलाई नेपालको आग्रह

फाल्गुन ४, २०८१ | काठमाडौं

परराष्ट्रमन्त्री डा. आरजु राणाले प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइमा सहयोग गर्न कतार सरकारलाई आग्रह गर्नुभएको छ । आठौं हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमानको मस्कटमा रहेकी मन्त्री राणाले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीलाई सो आग्रह गर्नुभएको हो । 

मन्त्री राणाले इजरायल सरकार र हमासका बीचमा मध्यस्थता गरी युद्धविराम र शान्ति वार्ताका लागि कतार सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । 

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी हमास समूहले विपिनलाई अपहरण गरी लगेको थियो । कतारका विदेश राज्यमन्त्रीसँगको भेटमा नेपाल–कतार सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्ति लगायतका विषयमा कुराकानी भएको थियो । 


प्रतिक्रिया