केही दिनपछि मात्र अध्यादेश अघि बढाउने सत्तारुढ दलको निर्णय

फाल्गुन ४, २०८१ | काठमाडौं
सरकारले यही फागुन ६ गते संसदमा अध्यादेश निर्णायार्थ पेश गर्ने तयारी गरेपनि सत्तारुढ दलले केही दिनपछि मात्र अध्यादेश अघि बढाउने निर्णय गरेका छन् ।
सत्तारुढ दलका प्रमुख सचेतकहरुको बिहान बसेको बैठकले संसदको कार्यसूची सार्ने निर्णय गरेको हो । सरकारले संसदमा पेश गरेका विभिन्न अध्यादेशहरु आगामी मंगलबार पेश गर्ने कार्यतालिका थियो । तर सांसदहरू राजधानी बाहिर रहेको भन्दै कार्यतालिका सारिएको कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।
बैठकमा प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सत्तापक्षका सचेतकहरूको सहभागिता थियो । उनीहरुले सांसदहरु सबै राजधानी आइपुग्न समय लाग्ने भन्दै बाहिर रहेका सांसदलाई सूचना दिएर मात्र कार्यसूची तय गर्ने निर्णय गरेका हुन् । यसैबीच, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ ।
शाहीले संघीय संसदको माथिल्लो सदनको कामकारवाहीबारे सामाजिक सञ्जाल फेसबुकमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको हो । नेपालको संसदीय इतिहासमा बहालवाला सांसदको अभिव्यक्तिमा अर्को सदनबाट खेद प्रस्ताव पारित गरिएको सम्भवत पहिलो घटना मानिएको छ ।