कुमारी सहकारीका ४२० बचतकर्ताद्वारा करिब ५० करोड रकम फिर्ता दिन माग

फाल्गुन ५, २०८१
एमाले नेता राजकुमार थापा समेतको संलग्नतामा रकम हिनामिना गरिएको म्याग्दीको वेनीस्थित कुमारी सहकारी संस्थाका ४ सय २० जना बचतकर्ताले करिब ५० करोड रकम फिर्ता दिन माग गरेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उनीहरुले सहकारीमा रकम जम्मा गरेको र फिर्ता नपाएको प्रमाण पेश गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत माघ २१ गते प्रहरीले कुमारी सहकारीका बचतकर्तालाई विभिन्न प्रमाणसहित उजुरी दिन आव्हान गरेको थियो । जिल्ला प्रहरी कार्यालयले दोस्रो पटक आज फेरि सूचना जारी गर्दै बचतकर्ताहरुलाई प्रमाण सहित उजुरी दिन अपिल गरेको छ ।
म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख तथा एमाले नेता थापा समेतको संलग्नतामा कुमारी बहुउदेश्यीय सहकारी संस्थाको १ अर्ब ४९ करोड रकम हिनामिना भएको खुलासा भएको थियो ।
सहकारी कार्यलयको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालयले थापा सहित सहकारीको रकम हिनामिनामा संलग्न भएका अन्य ५ जनालाई हिरासतमा लिएर अनुसन्धान शुरु गरिसकेको हाम्रा सहकर्मीले जनाएका छन् ।