महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना, तीन नेपालीको मृत्यु

फाल्गुन १०, २०८१ | राजविराज
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा मेलामा स्नान गरी फर्किरहेको तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । सात जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का लिलावती चौधरी र परसुराम चौधरीको मृत्यु भएको वडाका वडाध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिनुभयो ।
यस्तै, कञ्चनरुप–५ की हरिहर देवी यादवको पनि दुर्घटनामा मृत्यु भएको वडा नम्बर–५ का वडाध्यक्ष कैलास साहले जानकारी दिनुभयो । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार उत्तर प्रदेशको बाँसगाउ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा नेपाली तीर्थयात्री सवार गाडी दुर्घटना भएको हो ।
शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको दैनिक भास्करले जनाएको छ । घाइतेहरुको पनि जिल्ला अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी ढकेन्द्र खतिवडाले उत्तर प्रदेशमा नेपाली तीर्थयात्री सवार गाडी दुर्घटना भएको खबर आएको बताउनुभयो । सप्तरीको धरमपुरस्थित प्रहरी चौकीमा शनिबार बिहान जानकारी गराएको र थप बुझने कार्य भइरहेको एसपी खतिवडाको भनाई छ ।