खुकुरी प्रहारबाट श्रीमतीको हत्या, श्रीमान पक्राउ

फाल्गुन १३, २०८१ | रोल्पा
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा रोल्पाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । श्रीमतीको हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका–६ थुम्का बस्ने ४० वर्षीय खिमबहादुर बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मंगलबार बिहान सो घटना भएको जानकारीपछि घटनास्थल पुगेको टोलीले ३२ वर्षीया अस्मिता बुढा मगरको हत्यामा संलग्न खिमबहादुरलाई पक्राउ गरेको हो । मृतकको घाँटीमा खुकुरीले रेटिएको जस्तो घाउ भएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान गर्न नेर्पास्थित प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक दिवस हिताङको नेतृत्वमा ४ जना र इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक सरोज प्रजापतिको नेतृत्वमा थप ६ जना गरी १० जनाको प्रहरी टोली घटना स्थल पुगेको छ ।
थुम्का स्थानीय काउलाबोट गाउँदेखि नजिकै पर्छ । खिमबहादुरको परिवार केही वर्ष अघि माडी र सुकीदह–गंगादेवको सिमानामा पर्ने ओतगाउँबाट बसाइँसराइ गरेर आएको स्थानीयले बताए । घटनाको कारण भने खुल्न सकेको छैन । घटनास्थल गाउँपालिकाको केन्द्र नेर्पा बजारदेखि दुई घण्टा पश्चिमी भेगमा पर्छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले घटना बारे अनुसन्धान जारी राखिएको र मृतक अस्मिताको शवलाई पोस्टमार्टमका लागि अस्पतालमा पठाउने तयारी गरिएको बताउनुभयो ।
घटना स्थलबाट प्रहरीले खुकुरी समेत बरामद गरेको छ । पछिल्लोपटक रोल्पामा व्यक्ति हत्याका घटनामा वृद्धि भएकोमा नागरिक समुदाय चिन्तित बनेको छ । केही अघि जिल्लाको पूर्व भाग गाम गाउँमा आफ्नै छोराले बुबाको हत्या गरेका थिए भने त्यस गाउँसँगैको उवा गाउँमा जिप चालकको पनि हत्या भएको थियो ।