कालीगण्डकीमा बेपत्ता दुई जनाको शव फेला

चैत्र ३, २०८१ | पाल्पा

पाल्पास्थित कालीगण्डकी करिडोरमा काम गर्दै आएका दुई जनाको शव कालीगण्डकी नदीमा फेला परेको छ ।

 कालीगण्डकी करिडोर अन्तर्गत राम्दी–रानीमहल सडक खण्डमा डोजर चलाउँदै आएका सिन्धुलीको गोलञ्जोर गाउँपालिका ६ का २६ वर्षीय भोजराज अस्लामी मगरको शव भेटिएको हो । प्रहरीका अनुसार मगर गत फागुन २६ गते बसेको ठाउँबाट वेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा बगनासकाली गाउँपालिका ६ यम्घा माइचौरस्थित कालीगण्डकी नदीमा मगर मृत फेला परेको पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

 सोही सडक खण्डमा मजदुरका रुपमा कम गर्दै आएका दाङको तुल्सीपुर उपमहानगरपालिका ३ का ४५ वर्षीय तेजबहादुर रास्कोटीको पनि तीन दिनपछि शव भेटिएको प्रहरीले जनाएको छ । फागुन २९ गते कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर वेपत्ता भएका उनको शव २ सय मिटर टाढा पानीमा मृत अवस्थामा भेटिएको पाल्पा प्रहरीले जनाएको छ । दुबै जनाको शव पोष्टमार्टमका लागि तानसेनस्थित पाल्पा अस्पतामा राखिएको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया