अब साँझको समयमा लोडसेडिङ हुने अवस्था आयोः उर्जा मन्त्रालय

चैत्र ६, २०८१ | काठमाडौं
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विद्युतको माग भन्दा आपूर्ति कम भएको भन्दै अबदेखि साँझको समयमा लोडसेडिङ हुने अवस्था आएको जनाएको छ । उर्जामन्त्री दीपक खड्काले राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै उद्योगहरुमा लोडसेडिङ भइरहेको र आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने बताउनुभएको हो ।
नेपालको लोडसेडिङ हटाउन विद्युत् प्राधिकरण भन्दा भारत र निजी क्षेत्रको भूमिका रहेको मन्त्री खड्काको भनाइ थियो । राष्ट्रिय सभा बैठकमा सांसदसँगको प्रश्नोत्तरमा सहभागी मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिए प्रचार गरिएपनि त्यसमा सत्यता नभएको बताउनुभयो ।
यसैबीच नेपाल सिमेन्ट उत्पादक संघले पछिल्लो समय दैनिक १२ देखि १४ घण्टासम्म अघोषित लोडसेडिङको मार खेप्दै आएको जनाएको छ । संघले आज विज्ञप्ती जारी गर्दै नेपाल विद्युत प्राधिकरणबाट सिमेन्ट उद्योगहरुलाई उपलब्ध गराउदै आएको विद्युत कटौती भएपछि व्यवसायीहरु मारमा परेको बताएको छ । लोडसेडिङका कारण वैकल्पिक उर्जाको प्रयोगबाट उत्पादित सिमेन्टको मूल्य बढेको संघको भनाइ छ ।