गहुँबारीमा भेटिएको बाघ शुक्लाफाँटाको कोर एरियामा छाडियो

प्रतीकात्मक फोटो 

चैत्र १९, २०८१ | कञ्चनपुर

कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवाबाट नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ । नियन्त्रणमा लिएको दुई दिनपछि सोमबार मध्यराति निकुञ्जको कोर एरियामा छाडिएको हो । 

‘चिडियाखाना र उद्धार केन्द्र कतै पनि बाघ राख्न ठाउँ खाली भेटिएन,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरले भन्नुभयो, ‘दुई दिनसम्म प्रयास गर्‍यौं, कहीं ठाउँ नपाइएपछि निकुञ्जमै छाडने निष्कर्षमा पुग्यौं ।’

शनिबार बिहानै टेडुवाको गहुँबारीमो बयस्क भाले बाघ देखिएको थियो । सो बाघलाई दोस्रो दिन आइतबार डार्ट गरेर नियन्त्रणमा लिइएको थियो । त्यसपछि फलामको पिँजडाभित्र डिभिजन वन कार्यालयमै राखियो । दुई दिनसम्म पिँजडामै आहारा समेत नखाएको बाघलाई निकुञ्जमा छाडदा फेरी वस्तीमा पसेर जोखिम समेत हुन सक्ने संरक्षणकर्मीहरु बताउँछन् ।

‘बाघ बयस्क छ, घाइते पनि छैन, वस्तीमा पसेर कसैमाथि आक्रमण पनि गरेको छैन,’ ठाकुरले भन्नुभयो, ‘त्यहि भएर फेरी प्राकृतिक बासस्थानमै छाडिएको हो ।’ आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमको टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको थियो । 


प्रतिक्रिया