शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल पार्न प्रधानमन्त्री ओलीको आग्रह

वैशाख १, २०८२ | काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गर्नु भएको छ ।
आज सुरु भएको विद्यार्थी भर्ना अभियानको शुभकामना दिँदै उहाँले विद्यार्थी भर्ना अभियानलाई सफल बनाउनका लागि अभिभावक तथा सरोकारवालाको ठूलो भूमिका रहेको भन्दै सफल पार्न आग्रह गर्नु भएको हो ।
प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्यहरु हासिल गर्न विद्यालय शिक्षा साधारण प्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाइलाई समावेशी र गुणस्तरीय बनाउनाका साथै सबै शिक्षण संस्थालाई उत्कृष्ट ज्ञान केन्द्रका रुपमा विकास गरी शिक्षालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो ।
समृद्धिको एक आधारका रूपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्तालाई लाग्न उहाँले आग्रह समेत गर्नुभयो । प्रधानमन्त्री ओलीले अझै पनि नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या २० प्रतिशत रहेको उल्लेख गर्नुभयो । गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा रहेको भन्दै उहाँले अब पनि बालबालिकालाई विद्यालयबाहिर राख्न नसक्ने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अहिले आधारभूत तहको खुद भर्नादरमा सुधार आएको देखिए पनि विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्ने देखिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।