बुटवलमा आज जितगढी उत्सव मनाइँदै

वैशाख ७, २०८२ | तिलोत्तमा
नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनको स्मरणमा आज रुपन्देहीको बुटवलमा जितगढी उत्सव मनाइँदैछ । नेपाल–अंग्रेज युद्धका बेला बुटवलको जितगढीमा नेपाली फौजले अंग्रेज फौजलाई हराएको इतिहास छ ।
हार व्यहोरेपछि नेपाल कब्जा गर्न आएको अंग्रेज फौज फर्किएको थियो । जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले १८७२ वैशाख ७ गते अंग्रेज फौजमाथि जित हासिल गरेको थियो ।
सोही खुसियालीमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउँदै आएको छ । उत्सवको अवसरमा विभिन्न सांस्कृति कार्यक्रमको आयोजना गरिएको छ ।
बुटवल उपमहानगरको प्रवद्र्धनमा आयोजना गर्न लागिएको उत्सव कार्यक्रममा विभिन्न कलाकारबाट देशभक्ति गायन तथा नृत्य प्रस्तुत गरिने भएको हो । गौरवमय इतिहास बोकेको जितगढी किल्लामा युद्धको जितेको झल्को दिँदै जितगढी उत्सव मनाउन लागिएको हो ।
वि.सं. १८७२ बैशाख ७ गते बुटवलको जितगढी किल्लामा तात्कालीन पाल्पाका सेन राजाले अंग्रेज फौज विरुद्ध युद्ध गरेका थिए । कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी बनाएका थिए । त्यही फौजले १८७१ देखि सुरु भएको पटक–पटकको आक्रमण सामना गरेर वि.सं. १८७२ वैशाख ७ गते विजय भएको थियो ।
अंग्रेज सेनालाई हराएपछि यो गढीको नाम जितगढी रहेको हो । तत्कालीन समयमा नुवाकोटगढी, सिमरनगढी लगायत नेपालका सात स्थानमा अंग्रेजविरुद्ध युद्ध भएको थियो ।
हरेक वर्ष गोरखादेखि पैदलयात्रा गरी वैशाख ७ गतेका दिन बुटवलको जितगढीमा आएर भव्य समारोहसहित समान गर्ने परम्परा रहेको छ ।
जितगढी उत्सवका अवसरमा आज जितगढी उत्सव मूल समारोह गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गर्ने र पैदलयात्रा समापन गर्ने कार्यक्रम रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो । गोरखाबाट हिँडेको सेनाको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै वैशाख ७ गते ऐतिहासिक जितगढी किल्लामा आइपुग्नेछ ।