सरकार सञ्चालनमा समस्या छैनः गृहमन्त्री लेखक

वैशाख १०, २०८२
गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पार्नुभएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा मन्त्री लेखकले शिक्षामन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषय सत्ता साझेदारीसँग जोडेर आशंका नगर्न आग्रह गर्नुभयो ।
सरकारमा कुनै समस्या नभएको भन्दै उहाँले गभर्नर सिफारिसका लागि गठन भएको सर्च कमिटीमा रिक्त भएको एक पदमा समेत पूर्णता दिई अगाडि बढ्ने दाबी गर्नुभयो । यस्तै, आन्दोलनरत शिक्षकका मागबारे विभिन्न कोणबाट छलफल भइरहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले तत्काल पूरा गर्न सकिने माग सम्बोधन गरेर अघि बढ्ने तयारी भएको बताउनुभयो ।
त्यस्तै, गत चैत १५ गते काठमाडौं तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनको छानबिन भइरहेको भन्दै उहाँले सो घटनाबारे प्रहरी स्वयम् आन्तरिक छानबिनमा जुटिरहेको र निष्पक्ष, स्वतन्त्र रुपमा छानबिन गरिने स्पष्ट पार्नुभयो ।