बझाङको साइपालमा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध

वैशाख ९, २०८२ | बझाङ

बझाङको विकट साइपाल गाउँपालिकामा पाँच दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा स्थानीयको दैनिकीसँगै सरकारी कामकाज समेत प्रभावित भएको छ । ‘पाँच दिनदेखि पुरै कहीँकतै सम्पर्क गर्न पाइएको छैन ।’ स्थानीय घुरन बोहराले भने, ‘कोही मान्छे बिरामी भयो । केही घटना भयो भने पनि खबर गर्न मान्छे नै दौडाउनु पर्ने अवस्था छ ।’ 

साइपाल गाउँपालिकाका धेरै जसो ठाउँमा एक गाउँबाट अर्काे गाउँ पुग्न एकदेखि दुई दिनसम्म पैदल हिँड्नु पर्छ । टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा गाउँपालिका र वडा कार्यालयको दैनिक सेवा प्रभावित भएको छ । 

अनलाइनमा आधारित व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा जस्ता सर्वसाधारणले लिने सेवाका साथै मन्त्रालय र अन्य निकायका अनलाइन प्रणालीमा गर्ने सम्पूर्ण काम बन्द भएको छ । ‘सेवाग्राहीको सम्पूर्ण काम रोकिएको छ । कतिपय निकायको सफ्टवेयरमा गर्नुपर्ने काम र तत्काल रेस्पोन्स गर्नुपर्ने चिट्ठी पत्रको जवाफ पनि फर्काउन पाइएको छैन’, गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत जयराज जोशीले भन्नुभयो, ‘सबै सेवा ठप्प छ ।’ 

सञ्चार सेवा अवरुद्ध हुँदा बैकंले दिने भुक्तानी, नयाँ खाता खोल्ने, रकम जम्मा गर्ने लगायत सेवा समेत अवरुद्ध भएको जोशीले बताउनुभयो । साइपालको रस्यालेकमा रहेको नेपाल टेलिकमको टावरलाई नेटवर्कसँग जोड्ने मष्टा गाउँपालिकाको भकुन्डे डाँडामा रहेको रिपिटर टावरमा चट्याङ पर्दा यो समस्या आएको नेपाल टेलिकमको बझाङ कार्यालयले जनाएको छ । 

चट्याङले रिपिटर टावरको माइक्रोवेब, रेडियो, आइडियो, अडियो, सात वटा सोलार प्यानल, सोलार कन्टोलर आइटीए जस्ता उपकरण क्षतिग्रस्त भएको टेलिकम बझाङका प्रमुख बमबहादुर सिंहले बताउनुभयो । ‘हाम्रो प्राविधिक टोली मर्मतको काम गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘यताबाट लगेका केही उपकरण भकुन्डे टावरमा फिट नभएका कारण अर्काे सामान लिएर पनि टोली गैसकेको छ । हामी छिटो सेवा सुरु गर्ने प्रयासमा छौं ।’


प्रतिक्रिया