विचाराधीन मुद्दाका बारेमा अभिव्यक्ति नदिन थापालाई सर्वोच्चको आदेश

वैशाख १६, २०८२

सर्वोच्च अदालतले सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापालाई अदालतमा विचाराधीन मुद्दाका बारेमा अभिव्यक्ति नदिन आदेश जारी गरेको छ । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज विचाराधिन मुद्दामा प्रतिकुल असर पर्ने गरी अभिव्यक्ति दिने कार्य नगर्नु ÷नगराउनु भनी विपक्षीका नाममा आदेश जारी गरेको हो । अदालतको अवहेलना गरेको भन्दै थापाविरुद्ध अधिवक्ता अनन्तराज लुइँटेललगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सो आदेश जारी गरेको हो । 

साथै, सर्वोच्चले अदालतको अवहेलनामा कारबाही हुनु नपर्ने कारणसहित लिखित जवाफ पेस गर्न पनि थापाका नाममा आदेश जारी गरेको छ । अदालतले वैयक्तिक स्वतन्त्रता निरपेक्ष नहुने नेपालको संविधानको धारा १७ को (२) को प्रतिबन्धात्मक वाक्यांश तथा अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा न्याय निरुपणमा प्रतिकूल असर पर्ने विषयमा संघीय संसद्को कुनै सदनमा समेत छलफल नगरिने मान्यता संविधानको धारा १ सय ५ ले आत्मसात गरेको आदेशमा उल्लेख छ । थापाले काठमाडौंमा आयोजित एक कार्यक्रममा संवैधानिक परिषदमा गरिएका नियुक्ति अदालतमा ४ वर्षदेखि विचाराधीन रहेका बारे अभिव्यक्ति दिनुभएको थियो ।  


प्रतिक्रिया