सभाखोलामा बाढी : यातायात, विद्युत र सञ्चार सेवा अवरुद्ध

जेष्ठ ३, २०८२ | संखुवासभा

संखुवासभाको सभापोखरी गाउँपालिका–४ मा बिहीबार राति आएको बाढी पहिरोले यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ । 

सभापोखरी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चापागाईंले वर्षासँगै आएको बाढी पहिरोले ३, ४ र ६ लगायत वडामा यातायात, विद्युत् र टेलिफोन अवरुद्ध भएको बताउनुभयो । 

बाढी पहिरोले विभिन्न वडाका सडक र विद्युत् पोल बगाएको छ । बाढीले पोल बगाएपछि सो क्षेत्रमा हिजो शुक्रबारबाटै सबै सेवा अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो । 

बाढीले सभापोखरी–४ मा निर्माणाधीन २१ मेगावाट क्षमताको सभापोखरी हाइड्रोपावरमा समेत क्षति पुगेको छ । सो जलविद्युत आयोजनाको निर्माण सामग्री पनि बाढीले बगाएको छ । 

गाउँपालिकाकी उपाध्यक्ष चापागाईंका अनुसार बाढी पहिरोले विभिन्न वडामा आधा दर्जन घर विस्थापित भएका छन् । बाढीबाट विस्थापित र क्षतिबारे विवरण संकलन थालिएको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया