सशस्त्र प्रहरीद्वारा १३ लाख बढीको सामान बरामद

जेष्ठ २८, २०८२ | पर्सा

अवैध रुपमा ल्याई लुकाई राखिएको अवस्थामा पर्साको वीरगञ्जबाट १३ लाख रुपैयाँ बढीको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म र भन्सार कार्यालयको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–१० बजरंगटोलस्थित एक घरबाट सो मूल्य बराबरको सामान बरामद गरेको हो । 

धिरज रौनियारले भारतबाट अवैध रुपमा ल्याई भण्डारण गरी राखिएको अवस्थामा ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरी कार्यालयका सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो । 

सोही घरबाट भारतीय नम्बरको मोटरसाईकल पनि बरामद गरिएको छ । कपडासहित मोटरसाइकल नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्रका प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो । 

सोही गुल्मले वीरगञ्ज भन्सार कार्यालय तथा वडा नम्बर–१६ स्थित विभिन्न सीमा नाकाबाट २ लाख ४८ हजार मूल्य बराबरको कपडा र मसला समेत नियन्त्रणमा लिएको छ ।

यस्तै, अलौंस्थित सशस्त्र प्रहरीको सुरक्षा गुल्मको टोलीले बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीबाट २३ हजार रुपैयाँ बराबरको किराना सामान र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ । मोटरसाइकलसहित ती सामान भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


प्रतिक्रिया