देब नेपालीको घरजग्गा लिलाम नगर्न अदालतको आदेश

जेष्ठ २९, २०८२ | बागलुङ
उच्च अदालत पोखराले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको घरजग्गा तत्काल लिलामी नगर्न आदेश दिएको छ ।
उच्च अदालत पोखरा, बागलुङ इजलासका न्यायाधीश नातीबाबु लामिछानेको एकल इजलासले नगर प्रमुख नेपालीको घरजग्गा तत्काल लिलाम नगर्न आदेश जारी गरेको हो ।
केही समय अघि नेपालीको बागलुङ बजारमा रहेको घरजग्गा बैंकको लिलामी प्रकृयामा सहभागि भएर बागलुङ नगरपालिका ११ का रामबहादुर र गोमा क्षेत्रीले खरिद गरेका थिए । सो खरिद विरुद्द अदालतमा निशेधाज्ञा र उत्प्रेषण युक्त परमादेशको माग सहित नेपालीले अदालतमा निवेदन दिएका थिए ।
आदेशमा असार ९ गते अन्तरिम आदेशकालागि छलफलकोलागि विपक्षीलाई बोलाइएको छ । सहकारीका सञ्चालक समेत रहेका नगरप्रमुख नेपाली अहिले सहकारी ठगी मुद्दामा जेलमा छन् । नेपाली सञ्चालक रहेको सहकारीका पीडित संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले भने १ अर्बको सम्पत्ति बैंकले अधिकतम २३ करोडमा लिलाम गरेको जिकिर गर्नुभयो ।