माहेश्वरी माविमा एसईईको नतिजा शून्य

असार १५, २०८२ | संखुवासभा

संखुवासभाका ७४ विद्यालयमध्ये एक विद्यालयको एसईईको नतिजा शून्य आएको छ । ६ जना परीक्षार्थी रहेको सिलिचोङ गाउँपालिकाको माहेश्वरी मावि याफुको कुनै पनि विद्यार्थीले एसईई परीक्षा उत्तीर्ण गर्न नसकेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । 

संखुवासभाका ३ विद्यार्थीले सर्वाधिक ३ दशमलव ८३ जीपीए ल्याएका छन् । एसईई परीक्षामा जिल्लाबाट ७४ माध्यमिक विद्यालयका २ हजार ३ सय ९४ जना परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये एक हजार चार सय ५ जना उत्तीर्ण भएका छन् । 

११ विद्यालयका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भए । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार चिचिला गाउँपालिकाका सरस्वती मावि र धर्मदेवी माविका विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएका छन् ।

सरस्वती माविबाट २७ र धर्मदेवीबाट १५ जना विद्यार्थीले परीक्षा दिएका थिए । त्यस्तै, पाँचखपन नगरपालिकाका खप्टुवा मावि र शिवोदय माविका विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएका छन् । 

खप्टुवाबाट ३२ र शिवोदयबाट ११ जना विद्यार्थीले परीक्षा दिएका थिए । धर्मदेवी नगरपालिकाको भगवती माविबाट ११ जनाले परीक्षा दिएकोमा सबै उत्तीर्ण भएका छन् ।


प्रतिक्रिया