शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई ५ दिनको समय

असार २२, २०८२
प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई ५ दिनको समय दिएको छ । समिति सभापति अम्मर बहादुर थापाले आवधिक बढुवाका विषयमा सहमति जुट्न नसक्दा छलफलका लागि ५ दिनको समय दिएको बताउनुभयो । उहाँका अनुसार आवधिक बढुवा बाहेक अन्य विषयमा सहमति जुटिसकेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सहमतिका लागि भन्दै समय माग्नुभएको थियो । विधेयकमा अस्थायी शिक्षकलाई स्थायी गर्न आन्तरिक र खुला प्रतिस्पर्धाको प्रतिशतलाई लिएर देखिएको विवाद विवाद मिलेकोे सभापति थापाले बताउनुभयो ।
सरकार र नेपाली कांग्रेसका प्रमुख सचेतकले नयाँ माग राखेकाले सहमति जुट्न नसकेको समिति सभापति थापाको आरोप छ । आजको बैठकमा समिति सदस्यबीच नै भनाभन भएको थियो । समितिमा अन्य सदस्यको भनाइ नसुनेको तर कांग्रेस सचेतक श्याम घिमिरेको मात्र कुरा सुनेको भन्दै माओवादी केन्द्रकी सांसद रेखा शर्माले आपत्ति जनाउनुभएको थियो । नेपाली कांग्रेसका प्रमुख सचेतक घिमिरेले नेपाल शिक्षक महासंघले अघि सारेको विषय समितिमा प्रस्तुत गर्दा सहमति नजिक पुगेको विषयमा समेत विवाद उत्पन्न भएको भन्दै अन्य सांसदले आपत्ति जनाएका थिए ।