कैदीलाई जेल फर्कन गृहमन्त्रालयले दिएको समय सकियो

आश्विन २१, २०८२ | काठमाडौं
गत भदौ २३–२४ गते जेनजीले गरेको आन्दोलन हिंसात्मक भएसँगै देशभरका कारागारबाट फरार भएका कैदीलाई जेल फर्कन गृहमन्त्रालयले दिएको समयसीमा हिजो सकिएको छ ।
आन्दोलनका क्रममा फरार कैदीलाई स्वस्फूर्त रूपमा फर्किन सरकारले हिजोसम्मका लागि समय दिएको थियो ।
कैदीमध्ये ५ हजार ८१४ जना कैदी अझै फर्किन बाँकी रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरीबाट लुटेका करिब ८ सय हतियार पनि बरामद हुन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ ।
आन्दोलनको मौका छोपेर फरार भएका १४ हजार ५ सय ४९ जना कैदीमध्ये पछिल्लो २८ दिनमा ८ हजार ७ सय ३५ जना कैदी भने कारागार फर्किसकेका छन् ।
त्यस्तै, प्रहरीबाट लुटिएका करिब १ हजार २ सय ५० हतियारमध्ये २ सय ७४ वटा हतियार बरामद गरिएको र ९६ वटा हतियार जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
फरार कैदी र लुटिएका हातहतियार लिन विशेष अपरेसन सञ्चालन गर्ने तयारी गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
उहाँले फरार कैदी र लुटिएका हतियारका कारण शान्ति सुरक्षामा पर्ने असरलाई ध्यानमा राखी प्रहरीले आवश्यक कारबाही सञ्चालन गर्न लागेको बताउनुभयो ।
फरार कैदीका कारण समाजमा अपराधका घटना बढ्न सक्ने भएकोले उनीहरुलाई गिरफतार गरेर प्रचलित कानुनअनुसार जेलमा व्यवस्थापन गरिने प्रवक्ता घिमिरेको भनाइ छ ।