सुरक्षाकर्मीसँग बयान लिने तयारी
कार्तिक २१, २०८२ | काठमाडौं
जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे अनुसन्धान र कारबाहीका लागि गठन गरिएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले तहगत रूपमा सुरक्षाकर्मीसँग बयान लिने तयारी गरेको छ ।
भदौं २३ र २४ गते फिल्डमा खटिएका अधिकारीहरूको विवरण प्रहरीले आंशिक रूपमा पठाएपछि जिम्मेवार व्यक्ति निक्र्योल गर्न आयोगले बयान लिन लागेको हो ।
तीन सातादेखि आयोगले प्रहरीसँग घटनाका दिन फिल्डमा खटिने प्रहरी अधिकारीहरूको विवरणका लागि ताकेता गरिरहेको थियो ।
जाँचबुझ आयोगका अनुसार माग भएकामध्ये उपत्यका तथा संसद्लगायतको सुरक्षार्थ खटिएका अधिकारीको विवरण प्राप्त भएको छ ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले प्रहरीबाट विवरण आउने क्रम जारी रहेको बताउनुभयो ।
शर्माले प्राप्त विवरणलाई प्राथमिकीकरण गरेर थप प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।









