महाधिवेशन प्रतिनिधि छनोटको विषयमा एमालेमा असन्तुष्टि

मंसिर १८, २०८२ | काठमाडौं

एमालेको भावी अध्यक्षका लागि प्रतिस्पर्धा गर्न लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर नेताहरुले महाधिवेशन प्रतिनिधि छनोटमा उत्पन्न विवादबारे नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

नेताहरुका अनुसार ओखलढुंगा, चितवन, बाँके, बर्दिया, दाङ, सल्यान र डोटीसहितका जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विवाद देखिएको थियो । सोही बिषयमा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई लगायतले पार्टी अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराएका हुन् ।

केही जिल्लामा छनोट भएका प्रतिनिधिलाई पार्टीको संगठन विभागले अस्वीकार गरेको र पुनः निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको भन्दै नेताहरुले असन्तुष्टि जनाएको बताइएको छ । यसैबीच एमालेले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताउनुभयो । एमालेले यसअघि चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो ।


प्रतिक्रिया